कलैया, १४ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कृष्ण ढकालले नागरिकप्रति उत्तरदायी बन्न निर्देशन दिएका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा बुधबार आयोजित सातौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै डिआईजी ढकालले प्राविधिक शिक्षालयले संगठनलाई हरेक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताए। प्राविधिक जनशक्तिविना संगठनको काम सञ्चालन नै असम्भव हुने उल्लेख गर्दै उनले प्राविधिक जनशक्तिलाई संगठनको “मेरुदण्ड” को संज्ञा दिए।
उनले आफू चढ्ने सवारीसाधनदेखि विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरणसम्म सञ्चालन अवस्थामा राख्न प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताए। “मैले चढेको गाडी कुनै समस्या बिना चलिरहेको छ भने त्यसको श्रेय यही प्राविधिक शिक्षालयलाई जान्छ,” उनले भने।
सशस्त्र प्रहरीले विपद् व्यवस्थापन क्षेत्रमा हासिल गरेको सफलतामा प्राविधिक जनशक्तिको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले डिजास्टरका लागि प्रयोग हुने सामग्रीको मर्मत र व्यवस्थापनमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। तर, प्राविधिक जनशक्तिले अपेक्षित सम्मान अझै नपाएको उनको भनाइ थियो। “प्राविधिक जनशक्ति २४ घण्टा हाम्रो साथमा रहने जनशक्ति हो। यो बिना हामी एक पाइला पनि अघि बढ्न सक्दैनौं,” उनले भने।
डिआईजी ढकालले प्राविधिक शिक्षालयलाई बारावासी मात्र नभई सम्पूर्ण मधेस प्रदेशकै सम्पत्ति भएको उल्लेख गर्दै नेपाल सरकारका विभिन्न निकायले निर्माण, मर्मत तथा प्राविधिक कार्यमा यसको सेवा उपयोग गर्न सक्ने बताए।
नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिँदै उनले नागरिकको करबाट राज्य सञ्चालन हुने भएकाले सुरक्षा निकाय जनताप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गरे। “नागरिकले तिरेको करबाट यो भवन बनेको हो। नागरिकप्रति उत्तरदायी बन्न सकेनौं भने यो युनिफर्म लगाउनुको अर्थ रहँदैन,” उनले भने।
स्थापना दिवसको अवसरमा डिआईजी ढकालले केक काटेर समारोह उद्घाटन गरेका थिए। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यसैगरी कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरी सहायक हवल्दार धनबहादुर थापाकी आमा शिवकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै अमर प्रहरी स्मारकमा पुष्पहार अर्पणसमेत गरिएको थियो।
समारोहमा सशस्त्र प्रहरी जवानहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, सञ्चारकर्मी तथा अमर प्रहरीका परिवारजनको उपस्थिति रहेको थियो।


