रौतहटमा प्रहरीकै संरक्षणमा हुण्डीको कारोबार भईरहेको प्रमाण फेला परेको छ । प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताको संरक्षणमा रौतहटमा दुई समुहले हुण्डीको कारोबार यतिखेर निर्वाध रुपमा गरिरहेको पाईएको छ ।
हुण्डीको कारोबार गर्नेमा रौतहटको सदरमुकाम गौरमा मनि चेन्जर चलाएर बसेका कमरुद्दिन मिया र गौरकै निरन्जन जैसवाल उर्फ पप्पु जैसवालको समूह रहेको प्रहरी स्रोतको दाबि रहेको छ । जैसवाल समुहमा मुख्यत तीन जना को संगलनता रहेको छ । सो समुहका अन्य २ सदस्य उमेश अग्रवाल र निरज जयसवाल अवैध रुपमा भारतबाट आएको रकम बैंक सम्म पुर्याउने गरेको जानकारी हुन आएको छ । हुन्डी कारोबारीहरुले गौर महादेवपट्टी नाका र गौर भन्सारको पुर्व तर्फ रहेको ह्युम पाइप फैक्ट्री संगैको बाटो प्रयोग गरेर हुण्डीको रकम ल्याउने गरेको प्रहरी स्रोतको दाबि रहेको छ । स्रोतका अनुसार कारोबारीहरुले बेरोजगार यूवाहरुलाई प्रयोग गरि प्रति एकलाख रुपैयामा एकहजार रुपैया रकम ल्याउनेलाई दिने गरेका छन् । भारतबाट लुकाएर गौर सम्म पैसा पुर्याउने यूवाहरुलाई प्रति १ लाख रुपैया बराबर १ हजार रुपैया दिने गरेका छन् । यसरी हुण्डी वापत नेपालमा रुपैयाँ भित्रिसकेपछि गौरमा रहेको बैंकको स्टाफहरुलाई आफ्नो प्रभावमा पारी कारोबारीहरुले विभिन्न बैंकमा रहेको खातामा रुपैया जम्मा गर्ने गरेका छन् ।
मनी चेन्जर चलाउँदै आएका कमरुदिनले भने आफ्नै मनी चेन्जर मार्फत हुण्डीबाट आएको पैसाको कारोबार गर्ने गरेका छन् । त्यस्तै पप्पु जैसवालको समूहले भने हुण्डी मार्फत आएको पैसा विभिन्न बैंकमा जम्मा गर्ने गरेको स्रोतको दाबि रहेको छ । हुन्डी कारोबारी पप्पु जायसवाल दोहोरो नागरिकता धारी समेत रहेको र गौरमा उस्को मामाघर रहेको श्रोतले जनाएको छ । सानै देखि मामाको मा बस्दै आएको जायसवाल नेपालमा समेत नागरिकता प्राप्त गरेका छन । ज़ैसवालले अवैध आमदानी बाट गौरमा ३ वटा घर खरिद गरेका छन ।
यस्ता कारोबारीहरुलाई भने जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताको साथ रहेको छ । प्रहरी निरीक्षक गुप्ताले आफ्ना एजेण्टहरुलाई प्रयोग गरि हुण्डीका कारोबारीहरु संग मासिक लाखौ रुपैया असुल्ने गरेको समाचार स्रोतले जनाएको छ । गौरकै एक नाम चलेका होटेलका मालिकले प्रहरी निरीक्षक गुप्ताको बाहिरका कारोबारीहरु संग सेटींग मिलाउने गरेको पाईएको छ । प्रहरी स्रोतलाई आधार मान्ने हो भने प्रहरी निरीक्षक उमाशंकर गुप्ता १९ महिना रौतहटको मुद्दा फाँटको बसाई बाट करोडौ रुपैया अवैध रुपमा कमाई गरेका छन् । प्रहरी निरीक्षक गुप्ताले रौतहटमा विभिन्न व्यक्तिलाई आफ्ना एजेन्टको रुपमा खटाएका छन् । आफै कुनै किसीमका कारोबारी संग सम्पर्कमा नबस्ने प्रहरी निरीक्षक गुप्ता पैसा असुल्न मान्छे खटाउने गरेका छन् । प्रहरी प्रमुख दिलिप घिमिरेलाई आफ्नो प्रभावमा पारी उनले हुण्डीको कारोबार, सुन तस्करी, पशु चौपायाको तस्करी, कपडाको तस्करी लगायत मुद्दा मिलाउने जस्ता कामहरु गर्ने गरेको स्रोतको दाबि छ ।
तर यस विषयमा पप्पु जैसवालले भने आफुहरु कुनै किसीमको हुण्डीको कारोबार नगरेको दाबि गरेका छन् । उनले आफुलाई बदनाम गर्नका लागि केहि मानिस भ्रम छरेको प्रतिक्रिया दिएका छन् । यदी हुण्डीको कारोबार भईरहेको छ भने पैसा सहित मान्छे समात्न प्रहरीलाई आग्रह गरेका छन् ।
तर स्रोतले भने लाईन वापत पैसा खाईरहेको प्रहरीले हुण्डीको पैसा समात्ने कुरा हास्यास्पद रहेको बताएका छन् ।
यस बिषयमा प्रहरी निरिक्षक उमाशंकर गुप्ता सँग कुरा गर्दा तपाईले समाचार प्रकाशन गर्नु नै भएको छ। समाचार प्रकाशन गर्नु र बाँकी कुरा जिल्ला प्रहरी कार्यालय रौतहटको एसपिसँग कुरा गर्नु नत्र भने जिल्लामा आएर कुरा बुझ्न बताएका छन् ।