असोज २५, बारा । कान्तिपुर टेलिभिजनका वीरगञ्ज संवाददाता उपेन्द्र ठाकुरलाई पत्रकारितामा गरेको योगदानको कदर स्वरूप सम्मान गरिएको छ ।
बाराको सिमरा स्थित घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभाको अवसरमा संवाददाता ठाकुरलाई नगद पुरस्कार र कदरपत्र सहित सम्मान गरेको हो ।
सहकारीले समाजमा पत्रकारिताको माध्यमबाट पारदर्शिता, जवाफदेहिता र सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ठाकुरलाई सम्मान गरेको जनाएको छ । समाजका विविध क्षेत्रसँगै सहकारी क्षेत्रमा निष्पक्ष, इमान्दार र उत्तरदायी पत्रकारिता गरेकामा संवाददाता उपेन्द्र ठाकुरलाई घण्टिमाई सहकारीले सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।
सम्मान ग्रहण गर्दै संवाददाता ठाकुरले संस्थाप्रति आभार व्यक्त गर्दै भने, “यो सम्मानले मलाई अझ निष्ठाका साथ समाजका विषयमा आवाज उठाउन प्रेरणा दिएको छ । सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिता नै मेरो पहिलो प्राथमिकता रहेको भन्दै ठाकुरले यो सम्मानले अझ उर्जा थपेको बताएका छन् ।”
ठाकुर लामो समयदेखि पर्सा र बाराका सामाजिक, सहकारी, सुशासन र सीमा क्षेत्रसँग सम्बन्धित विषयमा सक्रिय पत्रकारिता गर्दै आएका छन् ।