वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी मेन्स एलाइट कप क्रिकेटको उपाधि जितेको छ ।
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)
बिहीवार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गरेर च्याम्पियन बनेको हो । विभागीय डर्बीमा पुलिसलाई उपाधि जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । अन्तिम दिन जितका लागि १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९ ओभर २ बलमा ७४ रन जोड्दै अलआउट भएको थियो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए भने कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर र ललित मिलेर सबै विकेट लिए । सागरले ६ विकेट र ललितले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका सागरले विकेट लिने क्रममा १४ ओभर २ बलमा एक मेडनसहित ३५ रनमात्र खर्च गरे । ललितले पनि १५ ओभर बलिङ गरेर २ मेडन राख्दै ३९ रनमात्र दिए ।
दोस्रो इनिङमा पुलिस १३९ रन बनाएर अलआउट भएपछि आर्मीले उपाधि जित्न १०३ रनको लक्ष्य पाएको थियो । ९ विकेटमा १३२ रनको स्थितिमा तेस्रो दिनको खेल शुरु गरेको पुलिसले कुल स्कोरमा ७ रन जोडेपछि अन्तिम विकेट गुमाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ४५ रन, दिलिप नाथले ३४ रन, राशिद खानले १८ रन र अमित श्रेष्ठले १३ रन बनाए । बलिङतर्फ आर्मीका शाहब आलम र बसिर अहमद दुवैले ५/५ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेटमा १३३ रन बनाएपछि पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन १७० रनमा अलआउट भएको थियो । पहिलो इनिङमा आर्मीले ३७ रनको अग्रता लिएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ४ दशक क्यानको नेतृत्व गरेका जयकुमार नाथ शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीमा यस वर्ष गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष ४ टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।
राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्ष स्थानमा रहँदै उपाधिका लागि खेलेका थिए । लिग चरणका खेल २ दिवसीय र फाइनल ३ दिवसीय फर्म्याटमा खेलाइएको हो ।