साउन २२, बारा । बाराको देवताल गाउँपालिकामा मदन भण्डारी विपन्न आवास कार्यक्रममा गम्भीर आर्थिक अनियमितताको पर्दाफास भएको छ । पूर्वाधार विकास कार्यालय बाराका लेखा प्रमुख मुकेश प्रजापति र तत्कालिन सब इञ्जिनियर प्रभात सिंहले देवताल गाउँपालिका १ मा योजनाबद्ध रूपमा व्यापक हिनामिना गरेको प्रमाण फेला परेको छ ।
आर्थिक वर्ष ०८०।०८१ मा महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत सम्झौता भइसकेका ३१ वटा घरहरूलाई टिपेक्स लगाएर केरमेट गरी त्यसमा २२ वटा घर थप गरेर मदन भण्डारी विपन्न आवास कार्यक्रममा समावेश गरिएकौ पाईएको छ । यसै आधारमा नक्कली कागजात तयार पारेर रकम दोहोरो भुक्तानी गराइएको पाइएको हो ।
श्री महेन्द्र नारायण निधि आवास देवताल १, बारा नामको समितिको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२६०१०००५०९६५००१ मा पहिल्यै ३१ वटा घरको भुक्तानी भइसकेको थियो । तर त्यसपछि फेरि त्यहीं खातामा २२ वटा घरको नाममा असार २५ गते १ करोड ३२ हजार रुपैया ट्रान्सफर गरिएको प्रमाण भेटिएको हो । खाताबाट रकम ट्रान्सफर गर्ने प्रक्रिया लेखापाल प्रजापति र सब इञ्जिनियर सिंहको मिलोमतोमा भएको पुष्टि वडा अध्यक्ष अरुण कुमार सिंहले गरेका छन् ।
वडा अध्यक्ष सिंहका अनुसार नियमविपरीत तरिकाले बजेट दोहोरो भुक्तानी गराएर भ्रष्टाचार गरिएको छ । लेखापाल प्रजापति र सब इञ्जिनियर सिंहले सरकारी स्रोत दुरुपयोग गरी जनताको भरोसामाथि कुठाराघात गरेका छन् ।
यही आरोपका आधारमा आज बिहिबार जिल्ला प्रशासन कार्यालय, बारामा यसमा संलग्न रहेकाहरुलाई कार्वाहीको माग गर्दै निवेदन दर्ता गरिएको छ । साथै जिल्ला प्रशासन कार्यालयले तत्कालीन रूपमा सम्बन्धित बैंक खातालाई रोक्का गर्न तथा सम्पूर्ण कागजात बुझाउन राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरिसकेको छ ।
सब इञ्जिनियर सिंहको घर समेत सोही वडामा रहेकोले उनले स्थानिय पहुँच र पदको दुरुपयोग गरेर अनियमितता गरेको आशंका समेत गरिएको छ ।
बारा जिल्लाका प्रदेशसभा सदस्य तथा विपन्न आवास कार्यक्रमका जिल्ला संयोजक त्रिलोकि चौधरी भने यसबारे बेखबर छन् । पत्रकारहरू सँगको संक्षिप्त संवादमा चौधरीले जिल्लामा कतिवटा घर बनिरहेका छन् भन्नेबारे मलाई जानकारी छैन भन्ने अभिव्यक्ति दिएका छन् ।
विपन्न नागरिकका नाममा ल्याइएको आवास कार्यक्रमलाई भ्रष्टाचारको अखडामा परिणत गर्ने यस्ता कर्मचारीहरुलाई हदैसम्मको कार्वाही गर्न जरुरी देखिएको छ ।