भदौ ०६, बारा । कही नभएको जात्रा हाँडीगाउँमा भनेझैँ ट्राफिक प्रहरीले मधेस प्रदेशमा घुमुवा परिचालन गरेर आतंक मच्चाएपछि सबैतिर आलोचित बन्न पुगेको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले आधा दर्जनभन्दा बढी घुमुवा परिचालन गरेर विभिन्न उद्योगका साथै यातायात व्यवसायी संघ, ट्रान्सपोर्ट, चुरे माफिया, नदीजन्य पदार्थको दोहन गर्ने, इटा व्यवसायी, समिल, कबाडी ढुवानी, राँगा भैंसी, गाईगोरु तस्करसित रकम असुली गर्ने गरेको तथ्य बाहिरिएसँगै ट्राफिक प्रहरीको आलोचना पनि बढेको हो ।
नियम विपरीत मालसामान ढुवानीमा ट्राफिक प्रहरी पथलैयाले सहयोग गरेवापत दैनिक लाखौँ रुपैया कमिसन पाउने गरेको छ । मधेस प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले घुमुवा प्रहरीमार्फत दैनिक लाखौँ रुपैया अवैध रुपमा उठाउने गरेका छन् ।
एसपी सिलवालले सहायक हवल्दार रवि राई, रोशननाथ, नवराजबस्नेत, रमेश यादवलाई सिभिलमा घुमुवाको रुपमा परिचालित गरी वीरगञ्ज भन्सार आईसीपीदेखि अन्य क्षेत्र सम्मको जिम्मा दिएका थिए । ट्राफिक नियमको उल्लंघन गरी अवैध तरिकाले माल सामान ढुवानी गर्ने गराउने काममा सहयोग गर्न घुमुवा प्रहरीले साझै ढुवानीकर्ता तथा तस्करसँग मिलेर संगठित रुपमै अपराध गराउने गरेको देखिन्छ ।
घुमुवा प्रहरीले मालसामान ढुवानीमा सहयोग गर्न ढुवानी समूहसँग मिलेर चार पाँचवटा मोबाइलबाट एसएमएसमार्फत डिउटीमा रहेका ट्राफिक प्रहरीलाई नर्मल, ओभर लोड तथा लोकल र बाहिर भनेर म्यासेज गर्ने र सवारी साधनलाई चेकजाँच नगर्न सेटिङ मिलाउने गरेको बुझिएको छ ।
गाडीको सेटिङ हवलदार नवराज बस्नेतले नै जिम्मा लिएको र अधिकांश ढुवानीकर्ताको सोझो सम्बन्ध हवलदार बस्नेतसँग रहेको पाइएको छ । भानु तथा श्रवण ग्रुपका सञ्चालकले मात्र एसपी सिलवालसँग कुरा गर्ने गरेको र बाँकी करिब एक दर्जन ग्रुपले हवलदार बस्नेतमार्फत मात्र सेटिङ मिलाएर कारोबार गर्ने गरेको पाइएको विश्वसनी स्रोतको दाबी छ ।
अहिले भारतबाट आउने धान ओसार्न भानु, श्रवण, प्रदीप, कृष्णा, विजय तथा सुरेश ग्रुप सक्रिय छन् । यसै गरी फलफूल ओसार्न उदय, विशाल, नवल, रमेश ग्रुप सक्रिय छन् ।
धान र फलफूलमा दैनिककरिब २०० गाडी आइसीपी हुँदै वीरगञ्ज–पथलैया सडकखण्डबाट बाहिरिने गरेको छ । नर्मल गाडीसँग प्रतिगाडी ५०० रुपैयाँ र ओभर लोड गाडीसँग प्रतिगाडी दुई हजार रुपैयाँ असुल्ने गरेको पाइएको छ ।
यसै गरी हार्डवेयर सामग्री ढुवानी गर्ने जगदम्बा ग्रुपको भारत रक्सौलका जय ठाकुर रहेको बुझिएको छ । पर्सा ट्राफिक प्रहरी प्रमुखसहित पथलैया ट्राफिक मुख्यालयका घुमुवासँग ठाकुर ग्रुपको सिधा समन्वय हुने गरेको छ । हार्डवेयर सामग्री नर्मल लोड हुँदा प्रति गाडी एक हजार रुपैयाँ र ओभर लोड हुँदा प्रतिगाडी पाँच हजार रुपैयाँ ट्राफिक प्रहरीले असुल्ने गरेको पाइएको छ ।
शनिबार र आइतबार बाहेक हप्ताको पाँच दिन दैनिक तीन सयदेखि पाँच सय वटा मालबाहक गाडी बाहिरिने गरेको छ । मालबाहक गाडीबाट दैनिक ट्राफिक प्रहरी पथलैयाले लाखौँ रुपैया अबैध असुल गरिरहेको छ ।
वीरगञ्ज भन्सार आइसीपीबाट गाडी निस्कने बित्तिकै प्रहरीलाई ढुवानीकर्ताको म्यासेज जाने गरेको हुन्छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले गोप्य रुपमा प्रयोग गर्ने ६ वटा मोबाइल नम्बरमा म्यासेज पुग्ने गरेको हुन्छ । म्यासेजमा गाडी नम्बर, सामानको नामसहित लोड नर्मल तथा ओभर लोड भएको जानकारी हुने गरेको छ ।
त्यसैगरी गाडी कहाँसम्म पुग्ने भन्ने पनि उल्लेख गरिएको छ । ट्राफिक प्रहरीले बोक्ने गोप्य मोबाइलमा म्यासेज आएको गाडीलाई जाँच नगर्ने तथा अन्य गाडीलाई मात्र डिउटीमा खटिएका ट्राफिकले जाँचगर्ने गरेका छन् ।
ट्राफिकको गोप्य मोबाइल नम्बरमा म्यासेज नआएको माल सामान भएको सवारी साधनलाई पथलैया ट्राफिक प्रहरी कार्यालय अगाडि निकै दुःख दिने गरिएको छ । सबै कागजपत्र र लोड दुरुस्त हुँदा हुँदै पनि शंका लाग्यो भन्दै बार्गेनिङ गर्ने र पैसा दिन नमाने पछि राजस्व कार्यालय पठाइदिने गरेको देखिएको छ । पथलैया ट्राफिकले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्दा बारा, पर्साका व्यापारी तथा उद्योगी समस्यामा परेका छन् ।
ट्राफिक प्रहरी विरुद्ध नै उजुरी
ट्राफिक प्रहरी प्रमुख एसपी सिलवालविरुद्ध उजुरी परेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी प्रधान कार्यालय काठमाडौंमा पनि एसपी सिलवालविरुद्धउजुरी परेका छन् । मालवाहक ट्रक, कन्टेनर, कलकारखाना र अन्यपीडितले एसपी सिलवालविरुद्ध उजुरी दिएको स्रोतको दाबी छ । भारतीय सवारी साधनलाई एसपी सिलवालका दूतहरुले अझ सताउने गरेको बुझिएको छ ।
भारत, उत्तर प्रदेश मथुराबाट नेपाल घुम्न आएका नरेश परिहारसँग ट्राफिक कार्यालय पथलैयाले पैसा असुल गरेको नागरिक न्युज टोलीले फेला पारेको छ ।
अहिलेसम्म एसपी सिलवालविरुद्ध ३० देखि ३५ वटा उजुरी परेको प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतले जनाएको छ ।
एसपी सिलवाल र ट्राफिक कार्यालय पथलैयाविरुद्ध परेका उजुरीको छानबिनको लागि तीनवटा छानबिन समिति बनाइएको स्रोतले दाबी गरेको छ । एसएसपी कमल थापाको नेतृत्वमा एउटा र एसपी नारायण रञ्जितकारको नेतृत्वमा दुई वटा छानबिन टोली बनाएर ट्राफिक एसपी सिलवाल र ट्राफिक प्रहरी कार्यालयबारे अनुसन्धान थालिएको स्रोतको दाबी छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले ट्राफिक प्रहरी कार्यालय पथलैयाका घुमुवाहरुलाई तानिइसकेको बुझिएको छ ।
एसपी चढ्ने गाडी नै चोरीको
अरुको सवारी चालक अनुमति पत्र, सवारीको रुट परमिट, अनेक किसिमका कागजपत्र खोज्ने ट्राफिक प्रहरीको प्रदेश प्रमुख नै चोरीको गाडीमा चढ्ने गरेका छन् ।
चोरीको सवारी साधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने कानुनी व्यवस्थालाई लत्याउँदै चोरीको भनिएको गाडी नै चढेको पाइएको छ । प्र।०३ ०१–०२२ च ०९६८ नम्बरको स्कारपिओलाई समातेर एसपी सिलवाल चढ्ने गरेका छन् ।
पक्राउ परेको स्कारपिओ छानबिनको क्रममा रहेको र आफूले खासै प्रयोग नगरेको एसपी सिलवालले बताए ।
एसपी सिलवालले आफू आएदेखि देशमा सबैभन्दा बढी सवारी साधन कारबाही गरेको, सबैभन्दा बढी राजस्व असुल गरेको र केन्द्रबाट प्रशंसा पाइरहेको बताउँदै राम्रो काम गरेपछि प्रशंसा पाएको दावी गर्दै आएका छन् ।
ट्राफिक दुर्घटना भयावह
चालु आर्थिक वर्षको सुरुदेखि भदौ ५ गतेसम्म मधेस प्रदेशमा ४८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा परेर एक हजार २७८ जना घाइते भएका छन् । प्रदेशमा ७८७ सवारी दुर्घटना भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
ट्राफिक प्रहरीको रेकर्डमा देखिने गरी हरेक दिन २२ भन्दाबढी सवारी दुर्घटना भइरहँदा ट्राफिक प्रहरीको ध्यान भने राजस्व असुलीतिर गएको देखिन्छ । सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्नुभन्दा राजस्व तथा जरिवाना असुल गरेर तथ्यांकमा देखिने काम गरी वैधानिक कमिसन उठाउन चाल रचेको देखिएको छ ।
गत साउन १ देखि भदौ ५ सम्म मधेस प्रदेशका ट्राफिक प्रहरी कार्यालयले १६ हजार १४० सवारी साधनलाई कारबाही गरी १ करोड ४२ लाख ९२ हजार राजस्व असुली गरेको देखिन्छ । ट्राफिक प्रहरीलाई मानिसको जीवनको मूल्य र अंगभंग तथा घाइते हुनुलाई नियन्त्रण गर्नुभन्दा कमाइ गर्ने बाटो अपनाउने गरेको आरोप लागेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुखमा एसपी राजकुमार सिलवाल आएपछि ट्राफिकको मनोबल भने निकै बढेको छ । जहाँ ट्राफिक पैसा उठाउनमा केन्द्रित भएको देखिएको छ । सर्लाही ट्राफिकको चरम लापरवाहीले अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ भने २६३ जनाघाइते भइसकेका छन् ।
नागरिक अनलाइन बाट साभार गरिएको