Wednesday, October 15, 2025

जय मधेश : एक चमत्कारिक शब्द

ताजा / भरखरै प्राप्त

बाडो गजबको चमत्कारिक शब्द रहेछ, जय मधेश । सडकमा आयो, “जय मधेश” बोल्यो, हामी मधेशीहरू गदगद !
बोल्नेको पनि छाती फुल्छ, सुन्ने पनि आत्ममुग्ध ।
“जय मधेश” सुन्ने बितिक्कै आन्दोलित गराइदिने,
मृत्युलाई “आहुति” र “बलिदान” बनाइदिने ।
राज्यको गोली खान तयार बनाइदिने,
कस्तो जादुई शब्द हो यो, जय मधेश !
तर प्रश्न उस्तै छ—जसले बलिदान दियो उसले के पायो ?
जो अंगभंग भयो, उसले के पायो ?
उत्तर त तपाईँलाई थाहा छ नेता ज्यु,
संघीयता पायो, समावेशिता पायो, पहिचान पायो ।
तर संघीयताले उसलाई के दियो ?
समावेशिताले उसको परिवारलाई के दियो ?
पहिचान भनेको के हो भन्ने कुरा उसले बुझ्यो त ?
उत्तर म दिन्छु—संघीयताले तपाईलाई मन्त्री बनायो,सांसद र मेयर बनायो ।
साइकल चढ्ने तपाईँलाई चिल्ला गाडीमा पुर्यायो ।
तपाईँका छोरा–छोरी, आफन्तले समावेशिताको लाभ पाए ।
खैर, लिनुस, अझै लिनुस,
तर “जय मधेश” भन्ने नाराले मात्रै मधेशको जय हुन्न ।
मधेश त तब जय हुन्छ जब अस्पतालमा औषधि पाईन्छ,
विद्यालयमा शिक्षक हुन्छन्,
किसानलाई बिउ–खाद पाईन्छ,
र जनता भोकै सुत्दैनन् ।
जय भनेको जनतालाई देखाउने पोस्टर होइन,
जीवनमा ल्याइने सुधार हो ।
जय भनेको भाषणको रंगीन पर्दा होइन,
जनताको पीडाको मलहम हो ।
त्यसैले, नेता ज्यु,”जय मधेश” भन्दा अघि एक पटक मधेशलाई साँच्चै जय बनाउनतिर ध्यान दिनुहोस् ।

———धर्मेन्द्र कुमार साह

spot_img

लोकप्रिय

Related Articles