भदौ १८, बारा । विवादास्पद भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुधबार बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला कार्य समिति बाराको अगुवाइमा आयोजित उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले “भूमि विधेयक खारेज गर”, “किसान विरोधी नीति बन्द गर” जस्ता नारा लगाउँदै सरकारको कदमविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
प्रदर्शन पछि भएको कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका जिल्ला अध्यक्ष रमेश यादवले भूमि विधेयक किसान र साना भू–स्वामीलाई विस्थापित गर्ने खालको भएको आरोप लगाएका छन् । उनले भने, “भूमि व्यवस्थापनका नाममा सरकारले किसानको पुर्ख्यौली जग्गा खोस्ने प्रयास गरेको छ । यसलाई जसपा कतैबाट पनि स्वीकार गर्ने छैन ।”
त्यस्तै केन्द्रीय सदस्य रामबाबु प्रसाद यादवले विधेयक संघीयताको मर्म विपरीत रहेको टिप्पणी गर्दै भने उनले भूमि सम्बन्धी निर्णयमा स्थानीय तह र प्रदेश सरकारको अधिकारलाई हरण गरेर केन्द्रले नियन्त्रण गर्न खोज्नु संघीय व्यवस्था माथिको आक्रमण रहेको बताएका छन् ।
सरकारले हालसालै संसद्मा दर्ता गरेको भूमि विधेयकले भूमिहीनलाई बसोबासको व्यवस्था गर्ने र अव्यवस्थित बस्तीकृत क्षेत्रमा कानुनी व्यवस्था ल्याउने प्रावधान समेटेको दाबी गरेको छ । तर जसपा नेताहरूले यसले दीर्घकालीन रूपमा किसान, दलित, मधेसी र साना भू–स्वामीलाई भूमिहीन बनाउन सक्ने चेतावनी दिएका छन् ।
विशेषगरी जग्गा स्वामित्वमा लगाइने सीमा, भूमिहीनलाई वितरण गर्ने प्रक्रियामा हुने सम्भावित भ्रष्टाचार र प्रदेश–स्थानीय तहको अधिकार कटौती गर्ने प्रावधान प्रति जसपा नेपालले गम्भीर आपत्ति जनाएको छ ।
विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताले विधेयक खारेज नभएसम्म सडक संघर्षलाई अझ तीव्र पार्ने चेतावनी दिएका छन् ।