Wednesday, October 15, 2025

अबिरल वर्षाले डुबायो बारामा तीन सय बिघा धान बाली

ताजा / भरखरै प्राप्त

असोज २०, बारा । शुक्रबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाले बाराका किसानहरूको महिनौँको मेहनतमा पानी फेरिदिएको छ । शनिबार दिनभर परेको ठुलो पानिका कारण जिल्लाको विभिन्न स्थानमा करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । विशेषगरी सिम्रौनगढ नगरपालिका ४ मा वर्षाका कारण किसानले लगाएको धानबाली डुबानमा परेपछि स्थानीय कृषकको दुःख झनै चुलिएको छ । स्थानीय किसान इस्लाम मन्सुरीको खेतमा पानी जमेर धान सड्न थालेपछि उनी चिन्तित छन् । “बर्षेभरि मिहिनेत गरेर लगाएको धानको यस्तो दुर्दशा देख्दा मन भक्कानिन्छ, उनले भने, “खेतीबाटै गुजारा गर्ने हामीजस्ता किसानलाई यो क्षति सिधा जीवनमै असर गर्छ ।”

इस्लाम मन्सुरीजस्तै धेरै किसानहरूको बाली खेतमै सड्न थालेको छ। वर्षाले खेतमा पानीको निकास नहुँदा धानबाली पूरै डुबानमा परेको छ । सिम्रौनगढ नगरपालिका ४, गंगानगर किसानले विगत २० वर्षदेखि पानी निकासको समस्याले बारम्बार दुख पाइरहेका छन् ।

स्थानीय युवा महाराज यादवका अनुसार गंगानगर बिगत दुई दशकदेखि खनिएका पोखरीहरूले वर्षातको पानी निकास अवरुद्ध गरेको छ । पटक–पटक जनप्रतिनिधिलाई गुहार लगाउदा समेत गंगानगरको पानि निकासको लागि पहल नहुदा यहाँ किसानले बर्षेनी लगाउदै आएको अन्न बालीमा ब्यापक क्षति हुदैं आएको स्थानीय युवा यादवले बताए । यस वर्ष पनि समस्याको दोहोरिनु स्थानीय सरकार र प्रशासनको उदासीनताको उपज भएको स्थानीयको गुनासो छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले पनि वर्षाका कारण जिल्लामा व्यापक क्षति भएको पुष्टि गरेका छन् । उनका अनुसार, “भदै धान र हर्दिनाथ जातको धान बाली सबैभन्दा बढी प्रभावित भएका छन् ।” उनले क्षतिको विवरण संकलन भइरेको बताउँदै मंगलबारसम्म पूर्ण विवरण आउने जानकारी दिएका छन् ।

spot_img

लोकप्रिय

Related Articles