Wednesday, October 15, 2025

करैयामाई गाउँपालिकाले विपन्न वर्गको छोरीको विवाह गर्न सुरु गर्यो सामुहिक विवाह कार्यक्रम आयोजना

ताजा / भरखरै प्राप्त

बाराको करैयामाई गाउँपालिकाले विपन्न वर्गको छोरीको विवाह गर्नका लागि यस आर्थिक वर्षदेखी सामुहिक विवाह कार्यक्रम आयोजना गरेको छ । पालिका भित्रका असहाय , गरीब र दलित समुदायको उमेर पुगिसकेको छोरीको लागि सामुहिक विवाह कार्यक्रमको आयोजना गरेको हो ।

करैयामाई गाउँपालिकाले आफ्नो १५ औ गाउँसभाबाट स्विकृत कार्यक्रम अन्तर्गत विहिबार आयोजना गरेको सामुहिक विवाह कार्यक्रममा दुई जना छोरीको विवाह सम्पन्न भएको छ । विवाह सम्पन्न हुनेमा करैयामाई गाउँपालिका वडा नम्बर १ हरैया निवासी सोकिल राय भाटकी २० वर्षीया छोरी आसमिं खातुन र वडा नम्बर ५ ढोरिया निवासी सुखल हजराकी २४ वर्षीया छोरी कुसुम कुमारी पासवानको सामूहिक विवाह गराइएको हो ।

सामुहिक विवाहमा खातुन मुस्लीम समुदायको भएकोले मुस्लिम परम्परा अनुसार र पासवान हिन्दु समुदायको भएकोले वडा नम्बर २ स्थित राजदेवी माताको मन्दिरमा बिवाह सम्पन्न भएको हो ।

गाउँपालिकाले विवाहका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु (बेहुला–बेहुलीको पोशाक, गहना, फर्निचर, खानपान, यातायात) को सम्पूर्ण व्यवस्थापन गरेको थियो ।

सुरुमा गाउँपालिकाले सामुहिक विवाह कार्यक्रममा उमेर पुगेका छोरीहरुको विवाह गर्न सहभागी हुन सार्वजनिक सुचना जारी गरेको थियो । गाउँपालिकाको सुचना अनुसार ४ जनाले आवेदन दर्ता गराएपनि पछि २ जनाले आवेदन फिर्ता लिएको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र कुशवाहाले जानकारी दिनुभएको छ ।

साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सामुहिक विवाह कार्यक्रम करैयामाई गाउँपालिकाको इतिहासमै पहिलो र स्मरणीय कार्य भएको बताए । उनले भने “पहिलो कार्यक्रम भएकोले केही कमि कमजोरी भएपनि स्थानियले देखाएको सहभागिताले आउने वर्षहरुमा यस कार्यक्रमलाई अझै भव्य र सभ्य बनाउने बताउनु भयो ।”

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको सभा अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रतिनिधि सभा सदस्य एवम् जसपा नेपालको केन्द्रिय सदस्य रामबाबु कुमार यादवले देशै भरीमा पहिलो चोटि करैयामाई गाउँपालिकाले गरेको यो कार्य एकदमै सराहनीय रहेको बताउनु भएको छ ।

साथै उक्त कार्यक्रममा बेहुला र बेहुली पक्षबाट सयौको सँख्यामा उपस्थिति रहेको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सुनैना कुमारी चौधरी, जसपा नेता रामकिशोर यादव , मधेश प्रदेश पुर्व अर्थ राज्यमन्त्री उशा कुमारी यादव लगायत गाउँपालिकाको सम्पुर्ण वडाको वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु सहित कर्मचारी ,सुरक्षाकर्मी, संचारकर्मीको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles